संसदीय समितिले नेपाललाई इयुको कालोसूचीबाट हटाउनेबारे निगमसँग छलफल गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संसदीय समितिले नेपाललाई इयुको कालोसूचीबाट हटाउनेबारे निगमसँग छलफल गर्ने


२ पुस २०८०, सोमबार


काठमाडौँ । संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालो सूचीबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सिंहदरवारमा बसेको बैठकले सोसम्बन्धी छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो।

निगम पदाधिकारीहरूले आज समितिको बैठकमा गरेको प्रारम्भिक ब्रिफिङ चित्तबुझ्दो नभएकाले पुनः छलफल गर्नका लागि पुस ५ गतेको बैठकमा बोलाइएको समितिले जनाएको छ ।

निगमले नेपालको हवाई उडानलाई इयूको कालोसूचीबाट हटाउनेसम्बन्धी विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ। निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दोष लगाउनेभन्दा पनि आफूले जिम्मेवार ढङ्गले कार्ययोजना पेश गर्नुपर्ने समितिको भनाइ थियो।

बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इयुको प्रतिवेदनमा औँल्याइएको विषयलाई हल गरेर कालोसूचीबाट नेपालको हवाई उडानलाई हटाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरूले मिलेर काम गर्नुपर्ने बताए।

उनले नेपाल वायुसेवा निगम एक्लैको कारणले नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचीमा यस वर्ष पनि राखेको भन्ने कुरा साँचो नभएको जिकिरसमेत गरे।

कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि इयुले औँल्याएको उल्लेख गर्दै ती समस्याको समाधान नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को नेतृत्वमा मात्रै सफल हुने बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस