नागरिकका गुनासो सुन्न गाउँ-गाउँमा प्रशासन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नागरिकका गुनासो सुन्न गाउँ-गाउँमा प्रशासन


३० मंसिर २०८०, शनिबार


अछाम । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले नागरिकका समस्या सुन्न र सेवा प्रवाहबारे जानकारी गराउने उद्देश्यले जिल्लाका १० वटै स्थानीय तहमा अन्तरक्रिया तथा छलफल सुरु गरेको छ ।

सोही अभियान अन्तर्गत शुक्रबार चौरपाटी गाउँपालिकामा एक कार्यक्रम आयोजना गरियो । सो अवसरमा जिल्ला प्रशासन र प्रहरी प्रमुखले आफू मातहत र कार्यालयबाट प्रदान गर्ने सेवाबारे जानकारी प्रदान गरे ।

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समाजका कुरीति तथा कुसंस्कारविरुद्ध सबैलाई सचेत पार्ने उद्देश्यले सबै पालिकामा सचेतनामुलक कार्यक्रम गरिएको बताए । सो अवसरमा उनले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सेवा प्रवाहका साथै ऐन, निर्देशिका, कार्यविधिलगायत विषयमा जानकारी गराए ।

उनले स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिले नागरिकता, महिला हिंसा, बालविवाह, छुवाछूत, लागु औषधलगायत समाजिक कुसंस्कारलाई कम गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका भएकाले सहयोग गर्नुपर्ने बताए ।

लागु औषधका घटना बढ्न थालेपछि अछाम-डोटीको सिमाना चौखुट्टे र दैलेख-अछामको सिमाना बेलखेतमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले नागरिकलाई सचेत बनाउने उद्देश्यले सबै वडामा सचेतनामुलक कार्यक्रम सञ्चालनको तयारी भएको बताए । अछामको चौरपाटी गाउँपालिका र डोटीको पुर्वीचौकी गाउँपालिकाबीच समन्वय गरी लागुऔषध न्यूनीकरण र रोकथामका लागि कडाइका साथ अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस