२६ वर्षपछि काँग्रेसको मुखपत्र नेपाल पुकार पुनः प्रकाशित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२६ वर्षपछि काँग्रेसको मुखपत्र नेपाल पुकार पुनः प्रकाशित


२४ मंसिर २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुनः प्रकाशन सुरु गरेको छ । त्रैमासिक रूपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अङ्क सार्वजनिक गरिएको छ ।

पार्टी मुख्यालय सानेपामा कार्यक्रम गरी नेपाल पुकार पुनः बजारमा ल्याइएको छ । नेपाली काँग्रेस स्थापनाअघि काँग्रेसका दुई धार नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसले ‘युगवाणी’ र ‘नेपाल पुकार’ छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए ।

दुई पार्टीको एकीकरण (२००६ सालमा) मा भएपछि एउटै पत्रिका पार्टीको मुखपत्र बनाउने गरी नेपाल पुकारको प्रकाशन गरिएको थियो ।

युगवाणीको प्रकाशन भने पार्टी एकीकरणपछि रोकियो । साढे पाँच दशक भन्दा बढी मुखपत्रका रूपमा प्रकाशित नेपाल पुकारलाई काँग्रेसले २०५४ सालदेखि बन्द गरेको थियो ।

‘अरु प्रतिस्पर्धी पत्रिका आएपछि आफूलाई अझै परिस्कृत गर्नुपर्नेमा पत्रिका नै बन्द गरिएको रहेछ’, प्रचार विभागका प्रमुख मीन विश्वकर्मा भन्छन् ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको अगुवाइमा नेपाल पुकार पुनः प्रकाशन थालिएको हो । पुनः प्रकाशित नेपाल पुकारको नयाँ अङ्कको सामग्रीमा गत २४ भदौदेखि ३ असोजसम्म काँग्रेसले गरेको बीपी साहित्य महोत्सवलाई प्राथमिकतामा राखिएको छ ।

प्रचार विभागले निकालेको पत्रिकामा सम्पादक मण्डलमा गोपाल झा, इन्द्र रिजाल, लीला दाहाल, दीपेन्द्र वान्तवालगायत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस