डोटी । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने प्रमुख दायित्व रहेको बताएका छन् ।
मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको पत्रकारहरू सँगको भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक कोइरालाले जिल्लाको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताएका हुन् ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा लागु औषध दुर्व्यसनी, बिना इजाजत मदिराको बिक्री वितरण, सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसार पसार, बिदाको समयमा सरकारी गाडीहरूको दुरुपयोग, सवारी साधनहरू नियमित चेक जाँचमा कमी, ग्रामीण क्षेत्रमा नियमित प्रहरी गस्ती बढाउनका साथै पत्रकारहरूलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउन पत्रकारहरूले सुझाव दिएका थिए ।
पत्रकारहरूले उठान गरेका सवालहरू जिल्लाका लागि महत्त्वपूर्ण भएकोले समाधानका लागि आम नागरिक, पत्रकार सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । सञ्चारकर्मीहरूलाई आवश्यक सूचनाहरू सहज रूपमा उपलब्ध गराउने समेत बताए ।
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यम कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।