काठमाडौँ । सुदूरपश्चिम प्रदेशसँग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा मङ्गलवार भएको खेलमा पुलिस सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । पुलिस पराजित हुँदा समूह सीबाट रनरेटका आधारमा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
मधेशले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको थियो । बराबर अङ्क रहेका मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदूरपश्चिमको -३.२२९ छ ।
यसअघि बागमती प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मङ्गलवार नै हुने दोस्रो खेलले सेमिफाइनल खेल्ने चौथो टिमको टुङ्गो लाग्नेछ ।
त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीचको खेल दिउँसो १ बजे सुरु भएको छ । उक्त खेलमा त्रिभुवन आर्मी क्लब विजयी भए सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । आर्मी पराजित भएमा बुधवार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बीचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।