रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै


६ मंसिर २०८०, बुधबार


रसुवा । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढिरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् ।

केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा-५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा-५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा-३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।

उनीहरूको साथबाट रु १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा आजै बुझाउने तयारी भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

गत आइतबार रु १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठीसहित तीन जना पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीले बताएको छ । अवैधरूपको सुन बोकी ल्याउने काम नगर्न नगराउन नेपाल प्रहरीले व्यापारीदेखि सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस