स्वास्थ्यमन्त्री बस्नेतले लिए उर्लाबारी आगलागीका घाइतेहरुको अवस्थाबारे जानकारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यमन्त्री बस्नेतले लिए उर्लाबारी आगलागीका घाइतेहरुको अवस्थाबारे जानकारी


३० कार्तिक २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मोरङको उर्लाबारीमा यही कात्तिक २६ गते भएको आगलागीमा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्रीले उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिए ।

पैसाको अभावमा कसैको पनि उपचार नरोकिने बताउँदै उनले जलेका बिरामीहरुका लागि कीर्तिपुर बर्न अस्पतालले उत्कृष्ट काम गरिरहेकाले मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा शङ्करमान राईले उर्लाबारी घटनाकासमेत गरी अहिले अस्पतालमा ४४ जना जलेका बिरामीको उपचार भइरहेको जानकारी दिए ।

उनले उर्लाबारी घटनाका पीडित २५ जना घाइतेमध्ये पाँचजनाको शुक्रबार शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी पनि दिए । घाइतेमध्ये नौजनाको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस