एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स


२४ कार्तिक २०८०, शुक्रबार


विदेशी मुद्रा

काठमाडौँ । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो । असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने कम हो ।

अघिल्लो आवको पहिलो त्रैमासमा १ लाख ४७ हजार ९३२ ले अन्तिम श्रम स्वीकृति र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस