सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउछन् । ‘सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति-निर्माण गर्ने छ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन’, उनी भन्छन् ।

विशेष गरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि संसद्मा सांसदको नै महत्व थाहा नहुँदा तथा जनताका भावना र विचारको प्रतिनिधित्वको संसद्मा सुनुवाइ हुन नसक्दा सोहीअनुसार भूमिका निर्वाह हुन नसकेको सांसद तामाङको भनाइ छ । संसदीय अभ्यासमा सरकारको काम-कारबाहीको मूल्याङ्कन गरी रचनात्मक आलोचना गर्ने, सरकारलाई जनताप्रति उत्तरदायी तुल्याउने, सरकारका कमी–कमजोरीको आलोचना गरी सरकारका काम-कारबाहीको प्रभावकारिता अभिवृद्धिका लागि लोकतान्त्रिक सरकारको सहयोगी भूमिका निर्वाहबाट निरङ्कुश र स्वेच्छाचारी हुनबाट सरकारलाई रोक्ने, सरकारका काम-कारबाहीउपर निगरानी राख्नेलगायतका भूमिका प्रतिपक्षको हुने उनी बताउछन्

राप्रपा संसदीय दलको उपनेतासमेत रहेका तामाङ संसदीय अभ्यासलाई मजबुत बनाउन प्रतिपक्षको आवाजलाई सम्बोधन गर्न सरकार तत्पर रहनुपर्ने बताउछन् । ‘बहुदलीय व्यवस्थामा मुख्यतः संसद् प्रतिपक्षको हो । सरकारले नदेखेका, गलत गरेका विषयमाथि झक्झक्याउने, सरकारलाई सही मार्गदर्शनमा हिँडाउन प्रतिपक्ष तत्पर छ तर प्रतिपक्षको आवाज सुन्न सरकार तत्पर छैन’, सांसद तामाङ बताउछन् ।

पञ्चायतकालदेखि राजनीतिक अनुभव लिएका सांसद तामाङ अहिलेको जस्तो फिक्का अधिवेशन कहिल्यै नभएको जिकिर गर्छन् । गरिमामय संसद्लाई मर्यादित र अनुशासित बनाउन संसदीय भाषालाई हरेक सांसदले अनुसरण गर्नुपर्ने उनको धारणा छ । सांसदले सरकारप्रति आरोप लगाउनु संसदीय अभ्यासमा स्वभाविक रहेको तर सोही आरोप ठिक वा बेठिक भन्नेमा सरकार र जनता दुवैले छुट्याउन सक्नुपर्नेमा सांसद तामाङको भनाइ छ ।

पछिल्लो समय भड्किलो चुनावी प्रसार–प्रचारलगायतका कुप्रचार प्रवृत्तिका कारण जनताको सेवामा समर्पित सामान्य नागरिक चुनाव लड्न नसक्ने वातावरण सिर्जना हुँदै गएको सांसद तामाङले बताए । ‘पैसाले टिकट, पद किन्ने परिस्थिति निर्माण हुँदै गएको छ । यस्ता गलत प्रवित्त नै मुलुकमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण बनेको छ । सिधासाधा व्यक्तिलाई त चुनाव लड्ने वातावरण नै छैन’, उनी भन्छन् ।

मुलुकको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय हितअनुकूल कार्य गर्न समयमै सबै मिलेर सल्लाह र सहमतिमा वर्तमान चुनावी प्रक्रियामा सुधार गर्नुपर्नेमा सांसद तामाङ जोड दिन्छन् । ‘समयैमा सबै मिलेर सल्लाह र सहमतिमा अहिलेको चुनावी प्रक्रियालाई परिवर्तन गर्नुपर्छ । अहिले मुलुकको अवस्था विश्लेषण गर्नुपर्ने जरुरी देखिन्छ’, सांसद तामाङ बताउछन् । पञ्चायतकालदेखि हालसम्म उनी छ पटक चुनाव लडेकामा चार पटक निर्वाचित भए । तामाङ हाल प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस