वाणिज्य सचिवमा दुवाडी, डा. हरि लम्साललाई कायममुकायम  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वाणिज्य सचिवमा दुवाडी, डा. हरि लम्साललाई कायममुकायम 


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायण प्रसाद शर्मा दुवाडी आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव दुवाडीलाई मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । 

सचिव मधु कुमार मरासिनी निलम्बनमा परेसँगै रिक्त रहेको सचिव(वाणिज्य) मा महिना दिनपछि दुवाडी आएका हुन् । असोज १५ गते नेशनल गेटवे पेमेन्ट प्रकरणमा मरासिनीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेसँगै उक्त पद रिक्त रहँदै आएको थियो ।

दुवाडी २०७९ भदौ ६ गते सचिवमा बढुवा भएका थिए । सचिवमा बढुवा भएसँगै उनलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख सचिवका रुपमा खटाइएको थियो ।

सम्बन्धित समाचार : नारायण शर्मा दुवाडी सचिवमा बढुवा

यसैगरी वरिष्ठ सहसचिव डा. हरिप्रसाद लम्साललाई कायम मुकायम प्रदेश प्रमुख सचिव बनाई सुदूर पश्चिम प्रदेश पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत डा. लम्साल बढुवा सिफारिस सूची भित्र परिसकेका छन् । प्रशासन तर्फ रिक्त एक सचिवका लागि सिफारिस गरिएका तीन वरिष्ठ सहसचिवमध्ये तेस्रो नम्बरमा डा. लम्सालको नाम सिफारिस गरिएको थियो ।

सम्बन्धित समाचार : दुई सचिवका लागि चार वरिष्ठ सहसचिवको नाम सिफारिस 

उक्त लटमा पहिलो नम्बरमा सिफारिस भएकी राधिका अर्याल सचिवमा बढुवा भई सकेकी छिन् भने दोस्रो नम्बरमा रहेका चूडामणि पौडेल कर्णाली प्रदेशको कायम मुकायम प्रदेश प्रमुख सचिव बनाई पठाइएको छ । अब सचिव बढुवाका लागि हुने सिफारिसमा पौडेल पहिलो नम्बर आउने छन् भने लम्साल दोस्रो नम्बरमा हुनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस