नेपालको जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैंकका सिइओहरूलाई अर्थमन्त्री महतको आग्रह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालको जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैंकका सिइओहरूलाई अर्थमन्त्री महतको आग्रह


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सिईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। बिहीबार काठमाडौँमा भएको ३९औँ एशियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए।

उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए। उनले भारतले योभन्दा अगाडि १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको बताए।

जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री महतको भनाइ छ। उनले विश्व बैंक र एडिपीले पनि नेपालको ठूलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए।

उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए। अर्थमन्त्री महतले सरकारले विद्युत् उत्पादन,साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको दाबीसमेत गरे।

उनले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस