काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।
हिजो मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १ सय १९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार भूकम्पमा परी १ सय ८ जना घाइते भएका छन् ।
भूकम्पको केन्द्र बारेकोट गाउँपालिकामा भूकम्पमा परी अहिलेसम्म करिव एक दर्जन मानिस घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार घाइतेहरूको स्थानीयस्तरमै उपचार भइरहेको छ । उनका अनुसार उपचारका लागि बाहिर पठाउनु पर्ने अवस्था छैन ।
भूकम्पबाट करिब एक हजार घरमा क्षति पुगेको अध्यक्ष गिरीले जानकारी दिए । सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था पनि भत्किएका छन् । उनका अनुसार बाटो पनि भत्किएका छन् । उनले भने, ‘सग्ला घर र भवन देख्नै मुस्किल छ । मानिसहरू खुला चौर र जङ्गलमा बसेका छन् । मानवीय हताहतिको खबर आएको छैन ।’
अहिले पनि जनप्रतिनिधि, प्रहरी, कर्मचारी लगायतको सहयोगमा क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । घरहरू भत्किएपछि मानिसहरू घरबार विहीन भएका छन् । उनीहरूको लागि आवास र खाद्यान्नको आवश्यकता पर्ने देखिएको छ । उनले भने, ‘बस्न र खानका लागि संघ सरकार, प्रदेश सरकार र विभिन्न सङ्घसंस्थाबाट सहयोगको अपेक्षा गरेका छौं ।’