बिचौलियाको उठबस बढेको गुनासो पछि सरकारी कार्यालय परिसरका क्यान्टिन हटाउन निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बिचौलियाको उठबस बढेको गुनासो पछि सरकारी कार्यालय परिसरका क्यान्टिन हटाउन निर्देशन


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । सरकारी कार्यालय परिसर भित्र सञ्चालनमा रहेका क्यान्टिनहरू हटाउन जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन दिएको छ । प्रक्रिया पुरा नगरी सरकारी सम्पत्ति प्रयोग गरेर सञ्चालनमा रहेका क्यान्टिनहरूलाई तत्काल हट्न निर्देशन दिएको कार्यालयले जनाएको छ ।

सरकारी कार्यालयका जग्गामा टहरा बनाएर वा कार्यालयकै कोठा प्रयोग गरेर भाडा नतिरी क्यान्टिनहरू सञ्चालन गरेको पाइएकोले त्यस्ता क्यान्टिनहरू हटाउनका लागि निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । 

सरकारी कार्यालय परिसर भित्र सञ्चालनमा रहेका क्यान्टिनहरूमा बिचौलिया दलालहरूको उठबस बढी भएको गुनासो आएका कारण पनि क्यान्टिन हटाउन निर्देशन दिएको उनले बताए ।

खानेकुराहरू गुणस्तरहीन रहेको, चर्को मूल्य लिने गरेको, सेवा प्रवाहमा असर पर्ने गरी टोकन समेत मिलाइदिने भनी सेवाग्राहीलाई प्रभावमा पार्ने गरेको गुनासो आएको उनले जानकारी दिए । सेवाग्राहीलाई प्रलोभनमा पार्ने र बिचौलियाले प्रशासनको सेवा प्रवाहमा आँच पुर्‍याउने काम गरेको गुनासो बढेपछि निर्देशन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस