काठमाडौँ । पछिल्लो समय जसरी पनि विदेशिने मानसिकता बढेको छ । विदेश जानकै लागि नेपालीहरूले लाखौँ रकम खर्चिन थालेका छन् । भिजिट भिषामा जानेहरूले नक्कली कागजात बनाउन लाखौँ रुपैयाँ खर्चेको पाइएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको पछिल्लो एक साताको तथ्याङ्कलाई आधार मान्ने हो भने सोमबार र मङ्गलवार मात्रै पाँच जना पक्राउ परेका छन् । कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ३२ बस्ने वर्ष २३ को साईरस विसंखे, उदयपुरको बेलका नगरपालिका १ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वर्ष ३० को आशिष श्रेष्ठ, काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका १३ घर भई काठमाडौँ ९ बस्ने वर्ष २८ को जीवराज तामाङ रहेका छन् । उनीहरु सोमबार पक्राउ परेका हुन् ।
यसैगरी पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ घर भई काठमाडौँ वनस्थली बस्ने वर्ष २३ को अजित फेवाली, गोरखाकै बारपाक सुलिकोट गाउँपालिका ४ घर भई काठमाडौँको नागार्जुन नगरपालिका १ बस्ने वर्ष २१ को विपिन ढकाल रहेका छन् । उनीहरूलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको हो ।
उनीहरूले भिजिट भिषामा विदेश जाने व्यक्तिहरूका लागि श्रम स्वीकृतिदेखि शैक्षिक प्रमाणपत्र समेत नक्कली बनाउने गरेको पाइएको छ । भिजिट भिषामा विदेश जान लागेका व्यक्तिहरुको कागजात शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पठाएका कागजात अनुसन्धानका क्रममा नक्कली भएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाई विदेश पठाउने कार्यमा संलग्न श्रेष्ठ र तामाङले पीडितबाट पाँच लाख रुपैयाँ समेत लिएको पाइएको छ ।
तामाङलाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरी जवान तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।