काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बुटवल जाने भएका छन् । बुटवलस्थित आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ बुटवल जान लागेका हुन् ।
विसं २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि-पक्षीय समझदारीमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको थियो ।
सोही अस्पतालको वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको र प्रधानमन्त्री ‘प्रचण्ड’ले वार्षिकोत्सव समारोह उद्घाटन गर्ने अस्पतालले जनाएको छ ।
यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको मेयर पाण्डेयले बताए ।
उनका अनुसार ३ वटा विषयमा ४०/४० जनाका दरले १२० जना विद्यार्थीले यस वर्ष अध्ययन गर्नेछन् । विद्यार्थीलाई अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम गरिनेछ ।
आर्थिक वर्ष २०७९/८० मा ७० हजार ४८६ जनालाई सेवा प्रदान गरिएको अस्पतालले बताएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७९/०८० सम्म ६ लाख २१ हजार ९४२ जना बिरामीले अस्पतालबाट सेवा लिएको जनाइएको छ ।