जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिल्ला बाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा हवाई टिकट


१४ कार्तिक २०८०, मंगलबार


सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

नेपालगन्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मङ्गलबार दुई उडान भरे पनि दोस्रो फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ ।

पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगे पनि एयरलाइन्सका कर्मचारीले फोन र फेसबुक प्यासेन्जरका आधारमा टिकट वितरण गरेको पीडित यात्रु बताउँछन् ।

पहिलो फ्लाइटको टिकट सबैलाई मिलाएर वितरण गरे पनि दोस्रो फ्लाइटको टिकट कर्मचारीले मनपरी वितरण गरेको आरोप छ ।

एक हप्तादेखि टिकटका लागि सिमकोट विमानस्थलमा पुगे पनि फोनका आधारमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रु राजबहादुर परियार बताउछन् । निजी एयरलाइन्सले नियम विपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेको उनको भनाई छ ।

कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमति पत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको परियार बताउछन् ।

यस्तै खार्पुनाथ गाउँपालिका-३ का हस्ता रावल सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको गुनासो गर्छन् । निजी एयरलाइन्सका कर्मचारीले टिकटका लागि धाउँदा सामान्य सर्वसाधारणको कुरा नै नसुन्ने गरेको उनी बताउछन् ।

सुर्खेत र नेपालगन्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको हो ।

समिट एयरलाइन्सले दैनिक नियमित एक उडान भरेको अन्य सीता तथा तारा एयरलाइन्सले पछिल्ला केही दिनयता फाट्टफुट्ट उडान भरे पनि मनपरी टिकट वितरण गर्ने गरेको यात्रुको गुनासो छ । नेपाल एयरलाइन्सले गत शुक्रबार, शनिबार र आइतबार उडान भरेको थियो ।

तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठाबाटै र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका साधारण बताउँछन् ।

जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनाका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो यात्रु रावलको छ ।

दसैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उनी बताउछन् ।

सुर्खेतभन्दा नेपालगञ्ज जान हुम्लाबाट उडान अझ महँगो रहेको छ । त्यस्तै नेपालगञ्ज जाँदा रु. नौ हजार एक सय १५ तिर्नुपर्छ ।

दसैँ मनाउन हुम्ला पुगेका विद्यार्थी, रोजगारीको सिलसिलामा जिल्ला बाहिर बस्दै आएका नागरिक तथा बिरामीलगायतलाई जिल्ला बाहिर फिर्ता हुन समस्या छ ।

Tags :
प्रतिक्रिया दिनुहोस