अपजस पाउने गठबन्धन सरकारमा बस्न हुँदैन : नैनसिंह महर « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

अपजस पाउने गठबन्धन सरकारमा बस्न हुँदैन : नैनसिंह महर


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनतालाई सास्ती हुने काममा काँग्रेस साक्षी बस्न नहुने बताएका छन् । उनले गठबन्धन सरकारले राम्रो काम गर्नुपर्ने भएपनि त्यसो नभएको बताए ।

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महरले भने, ‘सरकारले गरेको अयोग्यताका जम्मै भारीहरू काँग्रेसको काँधमा बोकाउने, जस काँग्रेसले नपाउने अवस्थामा पार्टी सरकारमा रहिरहनुको कुनै औचित्य हुँदैन । सधैभरी सत्तामा बस्नुपर्दैन ।’

उनले गठबन्धनका सन्दर्भमा आफ्नो फरक दृष्टिकोण रहेको बताए । उनले सांसदमा जित्ने निश्चित भएका केही नेताको प्राथमिकतामा गठबन्धन परेको बताए । उनले गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले आफ्नो हैसियत बिर्सन नहुने बताए । उनले काँग्रेसलाई रुखमा मात्र भोट माग्ने पार्टी बनाउनुको विकल्प नरहेको दाबी गरे ।

नेता महरले जहिले पनि एउटै व्यक्तिले अवसर पाउनु भन्दा पनि अवसरको न्यायोचित वितरण आवश्यक रहेकोमा जोड दिए । जहिले पनि एउटै व्यक्तिले मात्रै अवसर पाउने र छोड्दै नछोड्ने हो भने ८ लाख ६६ हजार काँग्रेसका क्रियाशील सदस्यले के गर्ने भन्दै उनले प्रश्न गरे ।

नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष रहेका नेता महरले अर्थतन्त्र जटिल अवस्थामा रहेको बताए । अर्थतन्त्रमा समस्या खडा भएको उनको भनाइ छ । उनले ढिलो न्याय दिनु भनेको अन्याय भएको बताए । उनले अदालतको निर्णयलाई काँग्रेसले मान्दै आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस