आइतबार अमेरिका जाँदै परराष्ट्रमन्त्री साउद « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आइतबार अमेरिका जाँदै परराष्ट्रमन्त्री साउद


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमणतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो ।

अमेरिकाको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

मन्त्री साउदलाई सोमबार वासिङ्टन डीसीमा स्वागत गरेलगत्तै सोही दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गरेर द्विपक्षीय भेटवार्ता गरेपछि बेलुकी अमेरिका जाने भएका हुन् ।

मन्त्री साउद सन् २०१८ पछि अमेरिका भ्रमण गर्ने नेपालका उच्च पदाधिकारी हुनेछन् । सन् २०१८ डिसेम्बर १८ देखि २१ मा केपी ओली नेतृत्वका सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको भ्रमण गरेका थिए । त्यस बेला उनले डोनाल्ड ट्रम्प प्रशासनका विदेशमन्त्री माइकल पम्पियोलाई भेटेका थिए । यस पटक साउदले जो बाइडेन प्रशासनका विदेशमन्त्री एन्टोनी ब्लिकेनसँग द्विपक्षीय भेटवार्ता गर्न लागेका हुन् ।

परराष्ट्रमन्त्री साउद केही समयअघि न्युयोर्कमा भएको संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँगै अमेरिकाका आएका थिए । उक्त समयमा साउदको व्यस्तता नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धभन्दा पनि राष्ट्र सङ्घको बहुआयामिक कूटनीतिमै केन्द्रित रहेको थियो । तर साउदले त्यस बेला पूर्वविदेशमन्त्री माइक पम्पियोसँग न्युयोर्कमा भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धको बारेमा कुराकानी गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमणका दौरान अमेरिकी सहयोग नियोग यूएसएआईडीकी प्रमुख प्रशासक सामान्था पावर, अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत एलिस पी। अलब्राइट र अमेरिकी सरकारका अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, परराष्ट्रमन्त्री साउदले अमेरिकी सांसद तथा नेपाल ककसका सहअध्यक्ष माइक केरीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

त्यसबाहेक परराष्ट्रमन्त्री साउदले अमेरिकी इन्स्टिच्युट अफ पिसमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, नेपाली-अमेरिकी व्यापारिक समुदाय, प्राविधिकसम्बन्धी एडभाइजरी नेटवर्क र एनआरएनएका प्रतिनिधिहरूसँग कुराकानी गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस