अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दशैं « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दशैं


८ कार्तिक २०८०, बुधबार


फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ ।  विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । 

तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दशैं मनाएका छन् । 

घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका-६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किनुभएको छैन । फक्ताङलुङ गाउँपालिका-५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।

फक्ताङलुङ-५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दशैं मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलवार अलैँची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेका छन् । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”

सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दशैंका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दशैं मनाएको लिम्बूले सुनाए । सिरिजङ्गा-६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सक्नुभएन । ठूलो बगानमा टिपिरहेका उहाँ तिहारअघि नै काम सकेर फर्कने तयारीमा हुनुहुन्छ । 

मेरिङदेन गाउँपालिका-५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागिमात्र खाना बनाउँथे। तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाका लागि बिहान खाजा बनाउ र खाना बनाउनमा उनको व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएका छन् । अलैँची टिप्ने खेतलाहरुलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खान खान समय हुन्छ । आँखा देखुन्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझ बिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई पाँच सयदेखि ६ सय ५० रुपैयाँ ज्याला दिनु पर्दछ । 

यी त भए केही प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।

अलैँची टिप्ने मजदुर पाउनै गाह्रो

विगतका वर्षमा गाउँघरमा अलैँची टिप्नका लागि छरछिमेकीबीच अर्मोपर्मो गरिन्थ्यो । एक छिमेकीको बगानमा टिपाइसकेर अर्को छिमेकीको बगान टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो प्रचलन लोप हुँदै गएको छ । अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका-५ का अलैँची किसान कुमार राईले बताए । 

उनले भने, “आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।” गाउँका केही युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका-४ कृषक अनिता लिम्बूले बताइन् ।

केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो । अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुर्ख्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् । 

वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ । 

यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस