‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘महाजात्रा’ विदेशमा प्रदर्शनको तयारी


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ ।

दर्शक बढाउने काम अपेक्षित चलचित्रले गरेका छन् । तीमध्येको एक हो, ‘जात्रा’ शृङ्खला । षट्कोण आर्टस्ले निर्माण गरेको उक्त चलचित्रले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहीँ कारण उक्त कम्पनीले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।

अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’को भारतबाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन् । उनले कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खलाप्रतिको दर्शकको विश्वासलाई मुख्य कारण देखाए ।

‘जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । त्यहीँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेँ’, वितरक थापाले भने, ‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकांश देशमा प्रदर्शन अधिकार खरिद गरिसकेका छन् । निर्माण पक्षलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको विश्वसनीयता पनि हो ।’

जापान, हङ्कङ, न्यूजील्याण्ड, दक्षिण कोरिया, मध्यपूर्वका देश, अष्ट्रेलिया तथा युरोपमा चलचित्र नेपालकै मिति आगामी चैत ९ गते प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिर्दै वितरक थापाले ‘महाजात्रा’मार्फत केही नयाँ देशमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुनेसमेत बताए ।

विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवारका साथ आउने गरेका छन् । सो चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन लागेको बताए ।

‘हाम्रो पछिल्लो चलचित्र जात्रैजात्रा इन्टरनेट रिलिज भएपछि अधिकांश दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राखे । हामीले दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले समेत शृङ्खलालाई निरन्तर दिन हौसला दिएको हो’, उनले भने ।

आपत्कालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’को लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेको छ भने यसमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन्द खड्कालगायत कलाकारले अभिनय गर्ने छन्। यसको छायाङ्कन दसैँलगत्तै कात्तिकको दोस्रो साताबाट सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस