इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ।

मङ्गलवार बिहान सिंहदरवारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो।

सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिए।

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्तीको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए।

समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्व आँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ।

समितिले विदेशस्थित कूटनीतिक नियोगहरूलाई स्रोत, साधनसहित सक्षम बनाउनसमेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस