प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद


२० आश्विन २०८०, शनिबार


महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा रु. २१ बराबरको अवैध सामान बरामद गरेको छ ।

भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।

भारतसित सिमाना जोडिएको कञ्चनपुरमा ठुला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ । दुई दिनयता जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–६ र १८ मा गोदाममा छापा मारेर भन्सार छलेर ल्याएको रु. २१ लाख बराबरको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गड्डाचौकी नाका हुँदै भारतबाट भन्सार छलेर ल्याएको सामान बरामद गरिएको हो । व्यापारी भुवन भाटको घरमा छापा मार्दा रु दश लाखको खाद्य तथा किराना सामान बरामद गरिएको उनले बताए ।

प्रहरी उपरीक्षक कमल थापाले भन्सार छलेर अवैध रूपमा सामान ल्याउने ठुला व्यापारीमाथि निगरानी बढाइएको बताए । सोही क्रममा प्रहरीले शुक्रबार महेन्द्रनगरका व्यापारी सुशील गुप्ताको गोदाममा छापा मारेको थियो । प्रहरीले गोदामबाट रु ११ लाख बराबरको सामान बरामद गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

गड्डाचौकी भन्सार कार्यालयमा पाँच वर्षअघि स्थापना गरिएको उपकरण थन्क्याइएको छ । उक्त उपकरण सञ्चालनका लागि भन्सार कार्यालयले हालसम्म चासो देखाएको छैन ।


Tags :
प्रतिक्रिया दिनुहोस