काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धर्मका नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न भइरहेको बताएका छन्।
नेपालले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धि उल्ट्याउन यस्ता प्रयत्न भएको उनले बताए।
‘हाम्रो सामाजिक सद्भाव खलबल्याएर नेपालले प्राप्त गरेको राजनीतिक र आर्थिक उपलब्धि खलबल्याउन खोजिएको छ,’ उनले भने, ‘यसैका कडीका रूपमा धरान, वीरगञ्ज र अहिले नेपालगञ्जमा कर्फ्यु लगाउनुपरेको छ।’
नेपाल सांस्कृतिक, भौगोलिक र जातीय विविधता भएको मुलुक भएको भन्दै उनले सद्भाव खलबल्याएर उपलब्धि उल्टाउन खोज्ने तत्त्व सलबलाएको बताए। नेपालीका रूपमा सबै एकजुट रहेको भन्दै उनले सद्भाव खलबल्याएर उपलब्धि उल्ट्याउन खोज्ने तत्वलाई बेलैमा चिन्न जरुरी रहेको उनले बताए।
‘यहाँ धर्म, जातजाति, संस्कृति र भूगोलका नाममा विभाजन गर्न खोजिएको छ,’ उनले भने, ‘यस्ता तत्त्वहरूको उद्देश्य पुरा हुँदैनन्, हामी बेलैमा सचेत हुन जरुरी छ।’
सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्ष राज्यमा विश्वास गर्ने सबैले सद्भाव खलबल्याउन चाहने तत्वलाई चिन्नुपर्ने उनले बताए।
मुस्ताङको जोमसोममा बिहीबार सुरु कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। सबै धर्म, संस्कृति र भूगोलमा बसोबास गर्ने नागरिक आपसी एकता र सद्भावका साथ बसोबास गर्दै आएको उनले बताए।
मुस्ताङ पर्यटकीय जिल्ला भएकाले स्थानीय उत्पादनमा पनि जोड दिन आग्रह गरे। स्थानीय उत्पादन पर्यटकलाई खुवाउन सके मात्र आर्थिक उपलब्धि हासिल हुने भन्दै उनले पर्यटनबाट लाभ लिन उत्पादनमा जोड दिनुपर्ने बताए।