नेपाल क्रिकेट सङ्घको टिकेटिङ्ग पार्टनरमा आईएमई पे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल क्रिकेट सङ्घको टिकेटिङ्ग पार्टनरमा आईएमई पे


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र आई एम ई डिजिटल सोलुसन लिमिटेड (आई एम ई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ।

सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको लागि नेपाल क्रिकेट सङ्घले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ ।

सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट सङ्घले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाइन टिकेटको विक्रीको जिम्मेवारी पनि आई एम ई पे ले पाएको छ। राजधानी काठमाडौँमा बिहीबार सम्पन्न एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

पत्रमा नेपाल क्रिकेट सङ्घको तर्फबाट सचिव पारस खड्का र आई एम ई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए ।

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो ।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले, आई एम ई पे सँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ। यसै
बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो। यो साझेदारी बनाउने मौका दिनु भएकोमा म मेरो व्यक्तिगत र सिङ्गो नेपाल क्रिकेट सङ्घको तर्फबाट आई एम ई डिजिटल सोलुसन लिमिटेडलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्न चाहन्छु,’ खड्काले भने ।’

यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आई एम ई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन्। नेपाली क्रिकेटको विकासमा क्यानसँग सहकार्य गर्ने मौका दिएकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु, र ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस