नेसपाले भन्यो-नौँ बुँदे प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग वार्ताको औचित्य छैन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेसपाले भन्यो-नौँ बुँदे प्रस्तावको जवाफ नआएसम्म माओवादीसँग वार्ताको औचित्य छैन


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रलाई पठाएको ९ बुँदे प्रस्तावको जवाफ नआएकोले वार्ताको औचित्य नरहेको बताएको छ।

असोज १५ गतेदेखि १७ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा माओवादीसँग एकताबारे अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरिएको थियो।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्रस्तुत गरेको ९ बुँदे समष्टिगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म वार्ताको औचित्य नरहेको हाम्रो पार्टी स्पष्ट गर्दछ।’

गत वर्ष मंसिरमा भएको चुनावमा माओवादीसँग सहकार्य गर्दै नेसपाले माओवादीकै चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो। माओवादी र नेसपा एकता गर्ने भने पनि पछिल्लो समय माओवादीले नेसपाका एक अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै पत्र पठाएका थिए। नेसपामा बाबुराम भट्टराई पनि अध्यक्ष छन्।

माओवादीले रूपान्तरणसहित समाजवादी ध्रुवीकरणभन्दा पनि दाउपेचको राजनीति मात्र गर्न खोजेको निष्कर्षमा नेसपा केन्द्रीय कार्यकारिणी समिति पुगेको छ। माओवादीमा समाजवादी केन्द्र निर्माणमा भन्दा पनि तत्कालका लागि अङ्कगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखिएको नेसपाको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस