बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालसुधार गृहबाट फरार दुवै बालकैदी पक्राउ


१५ आश्विन २०८०, सोमबार


पक्राउ

वीरगञ्ज । वीरगञ्जस्थित बालसुधार गृहबाट फरार भएका दुई बाल कैदीलाई प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको छतबाट गत शुक्रबार बिहान हाम फालेर फरार भएका सप्तरीका पाण्डव यादव र सर्लाहीका अमरकान्त ठाकुरलाई ४८ घण्टापछि आज छुट्टा छुटै स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट गए राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आज पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।

फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौलतर्फ गएको दृश्य नाकामा जडान गरिएको सिसिटिभीमा रेकर्ड भएको थियो ।

बालसुधार गृहमा ६० जनाको क्षमता भएकामा हाल दोब्बरभन्दा बढी एक सय २६ जना बालक तथा किशोरहरूलाई कोचेर राखिएको छ । जसका कारण गृहमा रहेका बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै गृहलाई व्यवस्थापनमा समेत कठिनाइ भइरहेको बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस