काठमाडौँ । अफगानी क्रिकेटर नविल उल हकले एक दिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
२४ वर्षीय उनी भारतमा हुने एक दिवसीय विश्वकप टोलीमा छन् । उनले विश्वकप आफ्ना लागि अन्तिम एक दिवसीय खेल हुने बताएका हुन् ।
‘मेरो लागि मेरो देशको प्रतिनिधित्व गर्न पाउनु निकै गर्वको कुरा हो । तर मेरो खेल करिअर लामो बनाउन मैले एक दिवसीय क्रिकेटबाट सन्यास लिँदैछु । म यो निलो जर्सी टी-२० फम्र्याटका लागि भने लगाउनेछु’, उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा यो क्याप्सनसहित अफगानिस्तानको जर्सीमा एक फोटो सार्वजनिक गरेका छन् ।
सन् २०१६ मा मिरपुरमा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गरेका उल हकले ७ एक दिवसीय खेलमा १४ विकेट लिएका छन् ।
उनले २७ टी-२० अन्तर्राष्ट्रिय खेलमा ३४ विकेट लिएका छन् ।
गत सिजनको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा नवीनले लखनउ सुपर जायन्ट्सबाट खेलेका थिए ।
टी-२० टोलीमा नियमित जस्तै रहेका उनले अफगानिस्तानको एक दिवसीय टिममा भने कम मौकापाउने गरेका थिए ।
२०२१ यता कुनै पनि ओडीआई नखेलेका उनलाई अफगानिस्तानले विश्वकप टोलीमा भने बोलाएको छ ।
विश्वकपअघि अफगानिस्तानले दक्षिण अफ्रिका र श्रीलङ्कासँग अभ्यास खेल खेल्नेछ ।