काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआइ) बीच सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बुधबार हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात् चालु आ.ब. २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई JANBI, CANBI, Moody’s लगायतको सर्टिफिकेशन कोर्षको बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रूपमा कर्मचारीहरूलाई तालिम दिइरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि हुने बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्नु हुँदै बैंकले कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने बताए । उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरू देवेश प्रसाद लोहनी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पद्मा लक्ष्मी जी.सी., नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, सम्झना दाहाल लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २ सय ८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।