इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ पुग्यो चिनियाँ टोली « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ पुग्यो चिनियाँ टोली


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ टोली सोमबार बेलुका काठमाडौँ आइपुगेको हो ।

टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिङ्ग स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तर्राष्ट्रिय मामिलाका उपमहानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण ब्युरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई काठमाडौँ आएका हुन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा महानगरपालिकाका निर्देशक महेश काफ्ले र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख यम बसेलले स्वागत गरेका थिए ।

चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट पनि पाहुनाहरू नेपाल आउने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि चीनसँगै अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरू आउने महानगरपालिकाको भनाई छ ।

जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरूबाट पाहुना बोलाउन थालेको हो । ती पाहुनालाई ईन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार असोज ९ गते (बुधबार) बिहान १० बजेर ३७ मिनेट जाँदा इन्द्रध्वजसहितको लिङ्गो बसन्तपुरस्थित हनुमानढोका अगाडि ठड्याइएको छ । असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराइने छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस