दुई महिनामा करिब ४२ करोडको सिमेन्ट निर्यात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई महिनामा करिब ४२ करोडको सिमेन्ट निर्यात


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढेको देखिएको छ।

गत वर्ष साउनबाट मासिक ४९ लाख रुपैयाँको सिमेन्ट निर्यात सुरु भएकोमा पछिल्लो ६ महिनादेखि मासिक १० करोड रुपैयाँभन्दा बढीको निर्यात भएको छ।

निर्यात सुरु भएको १४ महिनामा एक अर्ब २० करोड रुपैयाँको सिमेन्ट र क्लिंकर भारतीय बजारमा बिक्री भएको छ।

सरकारले सिमेन्ट निर्यातको लागि अनुदान तथा छुटको व्यवस्था गरेसँगै नेपाली सिमेन्ट उत्पादकले भारतीय बजारमा सिमेन्ट बेच्न सुरु गरेका थिए। 

गत वर्षको बजेटबाट सिमेन्टको निर्यातमा ८ प्रतिशत नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत् खपत गर्दा महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको थियो।

हाल नेपालबाट पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बालाजी सिमेन्ट र सिजी सिमेन्ट भारतीय बजारमा बिक्री भइरहेका छन्।

गत वर्ष साउनमा पहिलो पटक पाल्पा सिमेन्टले ४१ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेर भारतीय बजारमा बेच्न सुरु गरेकोमा एक वर्षको अवधिमा चार वटा उद्योगले भारत सिमेन्ट पुर्‍याउन थालेका छन्। 

गत वर्ष साउन र भदौमा भएको सिमेन्टको तुलनामा चालु वर्षको साउन र भदौमा भएको सिमेन्ट क्लिंकरको निर्यात ४६ गुणा बढी छ। सिमेन्टको निर्यात गत वर्ष साउनबाट सुरु भए पनि क्लिंकरको निर्यात भने गत वर्ष असोजबाट मात्रै सुरु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस