अब गैर आवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन दिन सकिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब गैर आवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन दिन सकिने


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । गैर आवासीय नेपालीले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।

सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैर आवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

यस्तो नागरिकता लिन चाहने गैर आवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

गैर आवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिबद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नुपर्नेछ । सार्क राष्ट्रमा बसोबास गर्नेहरूले भने गैर आवासीय नेपाली नागरिकता पाउने छैनन् ।

गैर आवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शङ्का लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछ । यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ ।

गैर आवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिबद्धता अर्थात् शपथ गराउनुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस