एसिया कप : सिराजको उत्कृष्ट बलिङमा श्रीलङ्का ५० रनमा अलआउट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप : सिराजको उत्कृष्ट बलिङमा श्रीलङ्का ५० रनमा अलआउट


३१ भाद्र २०८०, आइतबार


काठमाडौँ । भारतका तीव्र गतिका बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलङ्का ५० रनमा अलआउट भएको छ । 

कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्का १५ दशमलव २ ओभरमा ५० रन बनाउँदै अलआउट भयो । 

श्रीलङ्काका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलङ्काका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो । 

श्रीलङ्काले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन श्रीलङ्का यस संस्करणको समेत उपाधि जितेर सातौँ पटक विजेता बन्न चाहन्छ । 

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौँ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलङ्काको टोली आमनेसामने हुँदैछन् ।

यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलङ्कालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो । 

श्रीलङ्काले तीन पटक भारतले पराजित गरेको छ । सुपर फोरमा भारतले श्रीलङ्कासँग कठिन जित निकालेको थियो । 

भारतले सुपर फोरमा पाकिस्तान र श्रीलङ्कालाई पराजित गरेको थियो । श्रीलङ्काले भने बङ्गलादेश र पाकिस्तानलाई पराजित गरेको थियो । 

फाइनल खेल वर्षाका कारण रद्द भएमा सोमबार रिजर्भ डेको व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस