पोखराको फोहोर व्यवस्थापन गर्न कोइका र युएनडिपीले डेढ अर्ब लगानी गर्ने सम्झौता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पोखराको फोहोर व्यवस्थापन गर्न कोइका र युएनडिपीले डेढ अर्ब लगानी गर्ने सम्झौता


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । पोखराको फोहोर व्यवस्थापन गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनडिपी) ले झण्डै डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

महानगरबाट उत्पादित फोहोर पुनः प्रयोग गरी आम्दानी गर्ने र रोजगारी सिर्जना गर्न उक्त सम्झौता भएको पोखरा महानगरले जनाएको छ।

सम्झौता अनुसार कोइकाले पोखराको फोहोर व्यवस्थापन गर्न ९.८ मिलियन अमेरिकी डलर अर्थात् १ अर्ब ३० करोड ११ लाख रुपैयाँ सहयोग गर्नेछ भने युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर अर्थात् ११ करोड ५५ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको महानगरको भनाई छ ।

महानगरका अनुसार यी दुबै संस्थाले पोखराको फोहोर व्यवस्थापन गर्न कुल १ अर्ब ४१ करोड ६६ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ।

सम्झौतामा महानगरको फोहोर पुनः प्रयोग गर्न रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना गर्ने उल्लेख छ।

सम्झौता पत्रमा मेयर आचार्य र कोइकाका उपप्रमुख युन यंग लीले हस्ताक्षर गरेका छन्।

उक्त परियोजना सुरु गर्न यसअघि अगष्ट ३० मा प्रारम्भिक मस्यौदामा हस्ताक्षर भएको थियो। सम्झौता अनुसार फोहोरमैला रिसाइकल र अपसाइकल गर्ने उद्यमीलाई सहयोग गर्न ग्रिन भेन्चर जोन स्थापना गरी आर्थिक, प्राविधिक र बजारको व्यवस्था गर्नेछ। यसका लागि महानगरले लेकसाइडको वसुन्धरा पार्कमा ५ हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउने पनि सम्झौता पत्रमा उल्लेख छ।

परियोजनाले पोखराका ८१ वटा टोलमा फोहोरको पुनः प्रयोग गरी आम्दानी गर्न सक्ने उद्यमी र रोजगारी सिर्जना गर्ने महानगरको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस