पाल्पा स्कार्पियो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाल्पा स्कार्पियो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो


१३ भाद्र २०८०, बुधबार


पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ। तानसेन-तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पुरिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका-२५ का विनोद तिम्सिना रहेको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन्। माथिबाट झरेको ढुङ्गा सहितको सुख्खा पहिरोले स्कार्पियोको पछाडिको भाग क्षत-विक्षत भएको छ। मृतकहरूको शवसमेत क्षत-विक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

तम्घासबाट बुटवलतर्फ आउँदै गरेको जिपमाथि बुधबार बिहान करिब सवा ८ बजे पाल्पाको जोर्तेमा ढुङ्गा खसेको थियो। दुर्घटनामा घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी ७ जनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ। डिभिजन सडक कार्यालय पाल्पाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरी चौडा बनाउँदै आएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस