कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता


९ भाद्र २०८०, शनिबार


काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा कर्णाली प्रदेशमा विस्तार गर्नबारे समझदारी भएको छ। 

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगंगाआँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगंगा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने उल्लेख छ।

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा। सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठान अन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। प्रतिष्ठान अन्तर्गत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने समझदारी उनले जनाए। 

‘आँखा उपचारका लागि अत्यावश्यक सबै प्रकारका आधुनिक स्वास्थ्य उपकरण र संरचना निर्माणमा सहयोग उपलब्ध गराउनेछौँ,’  डा. रुइतले भने, ‘कर्णाली प्रदेशको कुना कुनामा गएर सेवा उपलब्ध गराउने र त्यसमा पनि मोतिविन्दु, जलविन्दु तथा मधुमेहजन्य आँखाको समस्याको उपचारलाई सहज र सुलभ रूपमा सबैको पहुाचमा पुर्‍याउन हामीबीच सहकार्य हुनेछ।’ स्वास्थ्यमन्त्री बस्नेतले उक्त समझदारीले कर्णाली प्रदेशकै जनताको आँखा उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे। उनले आँखा उपचारका लागि रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरे।

‘दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौ,’  स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। मङ्गल रावलले तिलगंगा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए। सम्झौता अनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिए।

‘आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य सङ्घ संस्थासँग सहकार्य गर्ने अवसर नमल्निु नै ठुलो चुनौती थियो,’ उपकुलपति डा। रावलले भने, ‘तिलगंगासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्षदेखि आँखासम्बन्धी रोगको उपचार सेवा सञ्चालन भइरहेको छ। यद्यपि बजेट र विशेषज्ञ चिकित्सकको अभावमा सेवालाई विस्तार गर्न सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस