सचिव पाण्डेसहित १० जनाको मुद्दा पेशी एकै पटक पेश गर्न आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सचिव पाण्डेसहित १० जनाको मुद्दा पेशी एकै पटक पेश गर्न आदेश


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेसहित १० जनाको मुद्दा लगाउमा राख्न आदेश दिएको छ ।

उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीले समेत मुद्दा पुनरावलोकनको लागि निवेदन दिएका छन् ।

त्यसैकारण उच्च अदालतले बालकृष्ण र टोपबहादुरको निवेदनसँगै आज सुनुवाइ भएका दशैजनाको अर्को पेशी एकै पटक पेश गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको इजलासमा आज पाण्डेसहित थुनामा रहेका १० जनाको सुनुवाइ भएको थियो । उक्त सुनुवाइपछि बाँकी प्रतिवादीहरूले पनि जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकन गर्न निवेदन गरेको देखिएकाले एकै पटक पेश गर्न आदेश दिइएको हो ।

थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उनीहरू उच्च अदालत पाटन पुगेका थिए । बालकृष्ण र टोपबहादुरलगायतको निवेदन भने पेसीमा चढेको छैन ।

बिहीबारको पेसीमा निलम्बित सचिव टेकनारायण, पूर्वसुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मिया र गोविन्द चौधरीको निवेदनमाथि सुनुवाइ सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस