काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् । इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताए ।
उनले भने, ‘यहाँ मलाई ढोका खोल्दियो भनेर पनि विवाद गरिएको छ । नेपालको एयरपोर्टमा तस्करहरूलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरूको विरोध गर्नुस् । अरु ढोकाको विरोध गर्न अहिले जरुरी छैन । तीनको विरोधमा हामी उत्रिएका छौँ । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिरेको छ ।’
उनले अहिले कारबाही आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औँलामा गन्ने नेता मात्रै बाँकी रहने बताए । उनले इमानदारीपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे ।