काठमाडौँ । विद्यार्थी सङ्गठनहरूले सरकारले संघीय शिक्षा ऐन ल्याउन लागेकामा धन्यवाद दिँदै यही कानुनमार्फत शिक्षामा निजीकरण रोक्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाका विद्यार्थी सङ्गठनले बिहीबार संयुक्त विज्ञप्ति निकालेर संघीय शिक्षा ऐन छिटो पास गरेर शिक्षामा निजीकरण रोक्नैपर्ने बताएका हुन् ।
‘शिक्षा जस्तो आम नागरिकको मौलिक अधिकारको प्रत्याभूति गराउनको लागि नेपाल सरकार यसको पक्षमा दृढतापूर्वक उभिनु पर्दछ । शिक्षामा भइरहेको निजीकरणको अन्त्य र सबैको पहुँचमा गुणस्तरीय सार्वजनिक शिक्षाको सुदृढीकरणको पक्षमा हाम्रो सङ्घर्ष निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै प्रस्तावित ऐन रोक्न कुनै खालका अवरोध र षड्यन्त्रहरू भएमा त्यसको कडा भन्दा कडा प्रतिवाद गर्ने चेतावनी समेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ’, उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् ।
नेपालको संविधानको धारा ३१ मा आधारभूत शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निःशुल्क उल्लेख गरिएको भन्दै विद्यार्थी सङ्गठनहरूले शिक्षा क्षेत्रमा व्यापारीकरण र माफियाकरण रोक्नुपर्ने बताएका छन् ।
निजी विद्यालय सञ्चालकहरूले संघीय शिक्षा विधेयकको विरोध गर्दै आन्दोलन घोषणा गरेकामा पनि विद्यार्थी सङ्गठनहरूले विरोध जनाएका छन् । शैक्षिक संस्था बन्द गरेर कलिला बालबालिकाको मस्तिष्कमा असर पार्न नपाइने उनीहरूको धारणा छ ।
