एमालेद्वारा पोखरा विमानस्थल र लम्पी स्किनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एमालेद्वारा पोखरा विमानस्थल र लम्पी स्किनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२५ श्रावण २०८०, बिहिबार


काठमाडौँ। नेकपा एमाले संसदीय दल गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा फैलिएको महामारी नियन्त्रणको माग गर्दै गण्डकी संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

बिहीबारबाट सुरु हुने भनिएको संसद बैठकमै छलफल गर्ने गरी एमालेले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न गण्डकी सरकारमार्फत ध्यानाकर्षण गराउन र गाईबस्तुमा देखिएको लम्पी स्किन नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

बिजनेस नभएपछि बिहीबार बोलाइएको बैठक भने २९ गतेसम्मका लागि स्थगित भएको छ । एमाले सचेतक देवका पहारीको प्रस्तावमा सांसद कृष्ण पाठक र यशोदा रिमालको समर्थनमा संसदमा पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्नेबारे छलफल आवश्यक रहेको भन्दै प्रस्ताव दर्ता भएको हो ।

जग्गा अधिग्रहण भएको ४७ वर्षपछि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएमात्र ऋणको किस्ता तिर्न सक्ने अवस्था आउने सचेतक पहारीको भनाइ छ । जनवरी १ मा उडान सुरु भएको विमानस्थलबाट अहिलेसम्म एक पटक चार्टर उडानबाहेक आन्तरिक उडानमात्रै हुँदै आएको छ ।

‘हालसम्म भारत हुँदै उडान बाहिरिने पाँच वटा रुट खुला भए पनि नेपाल भित्रिने केवल सिमराको एउटा मात्र रुट खुल्ला छ । नेपालले कम्तिमा पनि नेपालगञ्ज, महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने नयाँ रुट लिन सकेमा पश्चिम भारत र पश्चिमतिरबाट नेपाल आउने जहाजका लागि पोखरा अन्तर्राष्ट्रिय विमान स्थल उपयुक्त हुन्छ,’ महत्वको प्रस्तावमा भनिएको छ ।

यसका लागि भारतसँग प्रधानमन्त्रीकै तहबाट कुरा गर्नुपर्ने देखिएको हुनाले संघीय सरकारलाई गम्भीर बनाउन प्रस्ताव दर्ता गराएको पहारीले बताइन् ।

जम्मा २० वर्षमा चुक्ता गर्नुपर्ने कर्जा र ब्याजको किस्तामध्ये ७ वर्ष निर्माण समयको ग्रेस पाएको हुनाले अब ६–६ महिनामा गरी २६ किस्तामा सो कर्जा तथा ब्याज तिर्नु पर्ने अवस्था रहेको एमालेको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस