काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।
आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकअघि माओवादी पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
पार्टी मुख्यालय पेरिस डाँडामा सुरु भएको बैठकमा केन्द्रीय कमिटी बैठक र त्यसको तयारी तथा ऐजेण्डाबारे छलफल भइहरेको छ । त्यसपछि आजै स्थायी कमिटी बैठक समेत बस्नेछ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौं सुरु हुँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने बैठकको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् ।
पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठनिकसहितका विभिन्न प्रस्तावहरू पेश हुने छन् । साथै बैठकले पार्टीको विधान अधिवेशनसहितका विषयमा पनि निर्णय लिने छ ।
माओवादीले मंसिरमा विधान सम्मेलन गर्ने जनाएको छ । बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय ९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना सदस्यका साथै प्रदेश पदाधिकारी १ सय गरी जम्मा ७ सय ५८ सहभागी हुने छन् ।