काठमाडौँ । सहाना प्रधानको नाम र तस्बिर अङ्कित हुलाक टिकट प्रकाशनका लागि सरकारसँग माग गरिएको छ ।
मङ्गलवार सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष एवं पूर्वशहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहितको टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेटेर प्रधानको नामममा हुलाक टिकट प्रकाशन गर्न आग्रह गरेको हो ।
जीवन पर्यन्त सामाजिक न्याय र महिला मुक्ति आन्दोलनमा सङ्घर्षरत रहेकी प्रधानको नाम र तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न आफूहरूले सरकारको ध्यानाकर्षण गराएको पूर्वमन्त्री झाँक्रीले बताइन् ।
उनले प्रधानजस्ता अग्रज व्यक्तित्वका योगदानहरूलाई जीवन्त बनाइ राख्न र आउँदो पुस्तालाई समेत परिचित गराउन प्रधानको नाममा हुलाक टिकट प्रकाशन गर्नुपर्नेमा जोड दिइन् ।
सञ्चारमन्त्री शर्माले यस विषयमा विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै सामाजमा योगदान गरेका यस्ता मूर्धन्य व्यक्तित्वहरूको सम्मान गर्नु राज्यको समेत दायित्व रहेको बताइन् ।
कम्युनिष्ट राजनीतिमा झण्डै ६ दशक निरन्तर सक्रिय रहेकी प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्।