काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत ३ महिनाको अवधिमा १ सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ ।
उच्चशिक्षाका लागि नेपालबाट दैनिक करिब पाँच सय विद्यार्थीले अध्ययन अनुमतिपत्र (एनओसी) लिई विदेशमा पढ्न गइरहेका बेला विदेशका विद्यार्थी पनि नेपालमा पढ्न आउने क्रम देखिएको छ ।
मन्त्रालयले गत आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि असार मसान्तसम्मको विवरणमा उक्त सङ्ख्याका विद्यार्थीलाई नेपालमा विद्यार्थी भिसाका रूपमा आउन सम्बन्धित निकायलाई सिफारिस गरेको जनाइएको हो । सो अवधिमा ३१ हजार एक सय चार नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गरिएको मन्त्रालयका सूचना अधिकारी शङ्कर अधिकारीले जानकारी दिए ।