‘सभाहल अपाङ्गतामैत्री भएन, ह्वीलचियरमा जान सकिँदैन ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘सभाहल अपाङ्गतामैत्री भएन, ह्वीलचियरमा जान सकिँदैन ’


१४ श्रावण २०८०, आइतबार


तनहुँ। तनहुँको व्यास नगरपालिका-३ मा निर्माणाधीन सभा हल अपाङ्गतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन्। जिल्लाकै ठूलो आयोजनामध्येको एक सभा हललाई अपाङ्गतामैत्री नबनाइएको अपाङ्गताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ।

संघीय सरकारको आर्थिक सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको सभा हलमा अपाङ्गता भएका व्यक्तिलाई जानै मुस्किल रहेको अपाङ्गताको क्षेत्रमा काम गरिरहेको सहृदयी मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीले बताइन्।

‘सभा हलको कुनै पनि संरचना अपाङ्गतामैत्री छैन, ह्वीलचियर जान मिल्दैन। हरेक सरकारी भवन अपाङ्गतामैत्री बनाइने भनिन्छ तर व्यवहारमा कार्यान्वयन भएको छैन’, उनले भनिन्।

सभा हलको प्रवेशद्वारमा अपाङ्गता प्रवेशका लागि र्याम्प नबनाइएको र शौचालय पनि अपाङ्गतामैत्री नभएको अध्यक्ष सुवेदीकाे भनाइ छ। ‘सरकारी बजेटबाट निर्मित संरचना नै अपाङ्गतामैत्री नहुनु दुःखद् हो। सरकारी भवन बनाउँदा पूर्ण अपाङ्गतामैत्री बनाउनुपर्छ’, उनले भनिन्।

अपाङ्गताको अधिकारका लागि काम गर्ने रिसेड तनहुँका अध्यक्ष मदन पौडेल सभा हल सीमित व्यक्तिका लागि मात्रै बनेको गुनासो गरे।

‘भवनको प्रवेशद्वार नै हाम्रा लागि काँडे तार लगाएको महसुस भयो, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा अपाङ्गतामैत्री नहुनु दुःखद् हो। भवनमा अपाङ्गता भएका व्यक्तिका लागि शौचालयसमेत छैन। मूल हलमा ह्वीलचियर प्रयोग गर्ने व्यक्तिका लागि दर्शकदीर्घामा बस्ने ठाउँ छैन’, उनले भने।

सरकारी भवन अपाङ्गतामैत्री बनाउनुपर्छ भन्ने सरकारको प्रस्ट निर्देशन रहे पनि व्यवहारमा कार्यान्वयन नभएको उनको भनाइ छ। उनले भने, ‘जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको भवनलाई पूर्ण मानवमैत्री बनाउन समन्वय समितिले पहल गर्नुपर्छ। अर्कोतिर अपाङ्गता भएका व्यक्तिहरूले खोलेका संस्थाका पदाधिकारीहरू सङ्गठित भएर आवाज बुलन्द पार्नुपर्छ।’

व्यास नगर अपाङ्गता समन्वय समितिका सदस्य ह्वीलचियर प्रयोगकर्ता कृष्णा थापाले आफूजस्ता ह्वीलचियर प्रयोगकर्ताका लागि सभा हलको संरचनाले अवरोध पुग्ने बताए।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत् निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ। हाल भवनमा रङरोगनको काम भइरहेको छ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना त्रासका कारण ढिलाइ भएको थियो। विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो।

भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे/एमए/प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो। सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो।

सभा हल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ। सात सय ५० जना क्षमता भएको सभा हलको बेस ग्राउन्डमा २० कार तथा ७० मोटरसाइकल पार्किङ गर्न सकिनेछ। उक्त भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ। सभा हल बाहिर फाउन्टेनसहितको विशिष्ट कक्ष (भिआइपी) पार्किङस्थलसमेत रहनेछ। सभा हल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५ दशमलव पाँच चौडाइको हुनेछ।

अपाङ्गतामैत्री बनाउन ज्ञापन पत्र

मञ्चले सभा हललाई अपाङ्गमैत्री बनाउन माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापन पत्र बुझाएको छ। मञ्चका अध्यक्ष सुवेदीले वाग्लेलाई ज्ञापन पत्र बुझाउँदै साउन मसान्तसम्म सभा हललाई अपाङ्गतामैत्री बनाउन ध्यानाकर्षण गराएका हुन्।

उक्त समयभित्र माग सुनुवाइ नभए पहुँचयुक्तता आन्दोलनको विभिन्न कार्यक्रम सञ्चालन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ। मञ्चले सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ पोखरा, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेश, जिल्ला प्रशासन कार्यालय, तनहुँ र सामाजिक विकास कार्यालय, तनहुँलाई ध्यानाकर्षण समेत गराएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस