काठमाडौँ । वैदेशिक रोजगारीका लागि असम्बन्धित व्यक्तिको प्रलोभनमा नपर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ ।
पछिल्लो समय आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगात युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बाहनामा लाखौँ ठगी भइरहेको खबर सार्वजनिक भएसँगै मन्त्रालयले सचेत गराएको हो । यसबारे सूक्ष्म अध्ययन समेत भइरहेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जान नेपाल सरकारले खुला गरेको मुलुकमा कानुनतः तीन प्रकारले मात्र जान सकिने भन्दै सो भन्दा अतिरिक्त प्रक्रियाबाट जान खोज्दा हुने जोखिमतर्फ मन्त्रालयले सचेत गराएको हो ।
इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलब, सेवा सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क र फ्री भिसा फ्री टिकेटको प्रावधानबारे संस्थामा आफैँ उपस्थित भएर जानकारी लिन वा वैदेशिक रोजगार विभागबाट यकिन गर्न समेत मन्त्रालयले सचेत गराएको छ ।