कर नबुझाएका ४६ व्यवसायीको बैंक खाता रोक्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर नबुझाएका ४६ व्यवसायीको बैंक खाता रोक्का


१२ श्रावण २०८०, शुक्रबार


तनहुँ । तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्त:शुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो ।

तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिए । ‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ’, उनले भने ।

कार्यालयले २०८० वैशाख ५ गते पहिलो पटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।

व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनले बताए ।

उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ ।

बहत्तर हजार बढी करदाता

तनहुँमा ७२ हजार चार सय ४७ करदाता रहेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७९/८० मा करिब १० प्रतिशत करदाता वृद्धि भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी टीकाराम पौडेलले जानकारी दिए ।

पछिल्लो समय नागरिकमा प्यान नम्बर लिएर मात्रै कारोबार गर्नुपर्छ भन्ने चेतनाको वृद्धि हुँदै गएको छ । प्यान नम्बर लिनेमा कर्मचारीतर्फ ४४ हजार दुई सय ८४ र व्यापारीतर्फ २३ हजार चार सय ३७ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस