सशस्त्र प्रहरीमा दरबन्दी थप, ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरीमा दरबन्दी थप, ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुला


११ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सरकारले सशस्त्र प्रहरीमा वरिष्ठ सईदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय ८५ दरबन्दी थपेको छ । साउन ३ को मन्त्रिपरिषद् बैठकले एसएसपीमा मात्रै ११ दरबन्दी सिर्जना गरेको छ, त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ छन् ।

जवानदेखि नायब निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर एसपीमा ४१, डीएसपीमा २८, इन्स्पेक्टरमा ४७ र वरिष्ठ सईमा ५८ दरबन्दी सिर्जना गरिएको छ । सङ्गठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृतस्तरमा केही पद थपिएको बताइएको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए ।

एसएसपी खड्का अनुसार माथिल्लो तहमा सीमित पद हुँदा लामो समयदेखि अधिकृतहरू एउटै पदमा अस्वाभाविक रूपमा लामो समयसम्म बस्नुपर्ने बाध्यता थियो । नयाँ पद सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको एसएसपी खड्काले बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायब महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ पद सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेकाले नयाँ पद सिर्जना गर्नुपर्ने उनको प्रस्ताव थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस