भ्रष्टाचारको फाइल खोलेर राजनीतिक सौदाबाजी गरेको ज्ञवालीको आरोप  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचारको फाइल खोलेर राजनीतिक सौदाबाजी गरेको ज्ञवालीको आरोप 


९ श्रावण २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले छानेर मात्रै भ्रष्टाचारका फाइल खोलेको आरोप लगाएका छन्। आफूनिकटका फाइल टेबुलको घर्रामा थन्काएर राजनीतिक सौदाबाजी गरेको उनको टिप्पणी छ।

उनले राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको फाइल खुलेकोसमेत बताए। मङ्गलवार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले पछिल्लो सुन तस्करी प्रकरणलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजनीतिक स्टन्टको संज्ञा दिए।

‘योभन्दा अगाडि त्यो कम्पनीले २१-२२ चोटी त्यही ढङ्गका सामानहरू ल्याइसकेको रहेछ। के खण्डखातिर पर्‍यो यो चोटी पक्राउ गरियो ?’, उनको आशङ्का छ।

सुन प्रकरणले गृहमन्त्रीलाई असफल साबित गरेको उनको दाबी छ। गृहमन्त्रीले के–के नै गरे भनेर चर्चा गर्नुपर्ने कारणै नभएको उनको भनाइ छ। ‘कसैलाई छाड्दिनँ भनेर गृहमन्त्री भन्नुभा’छ। तर्साउने काम भयो। नभए काम गरेर देखाउनुपर्‍यो’, उनले भने।

उनले सरकार नै भ्रष्टारमुक्त भएर भ्रष्टाचारको फाइल खोल्न सुझाव दिए। ‘आफ्नो हात सफा नगरीकन तपाईँले टेबुल पनि सफा गर्न सक्नुहुन्न। कोठा पनि सफा गर्न सक्नुहुन्न। शरीरभरि हिलोको छिटाहरू बोकेर अरूलाई म सफा गर्छु भन्ने कुराको अर्थ हुँदैन। त्यसका लागि सरकार आफू क्लिन हुनुपर्‍यो’, उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस