सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गछौँ : मन्त्री किराँती « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गछौँ : मन्त्री किराँती


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सम्पदाहरूको खोजी गरी मौलिक रूपमा संरक्षण गर्ने बताएका छन् । सोमबार लुम्बिनी विकास कोषको परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरूले जोगाएको सम्पदाहरूलाई मौलिक रूपमा नै संरक्षण गर्नुपर्ने बताएका हुन् ।

मन्त्री किराँतीले विदेशीहरूको नक्कल गर्दा सम्पदा क्षेत्र पार्क र फाइभ स्टार होटेल जस्ता बन्न थालेको भन्दै त्यसो हुन नदिने बताए । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका किराँतीले सम्पदाहरूलाई संस्कृति र प्रकृतिमैत्री रूपमा विकास गर्नुपर्ने बताए ।

पुर्खाले छाडेर गएका सम्पदाहरूको खोजी गरेर सम्पदालाई सम्पदाकै रूपमा विकास गर्ने नीति सरकारले लिने किराँतीले बताए । उनले गौतमबद्धले विश्व शान्तिका लागि वैचारिक रूपमा क्षेप्यास्त्र संसारभर फैलाएको बताए । उनले लुम्बिनीलाई विश्वशान्तिको रूपमा विकास गर्ने गरी नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

उनले मन्त्रालय समालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताए । मन्त्री किराँतीले ६ महिनाको अनुभवले ऐन नियमहरूलाई समयअनुकल बनाउन पुनर्लेखन र संशोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानून संघीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरी संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरूमा देखिनेगरी परिणाममुखी काम गर्ने र आधारभूत रूपमा भएका कामहरूको मसिनो गरी फलोअप गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस