पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको हो ।

सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष शिवि लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई १९ जेठमा पत्राचार गरेको थियो ।

विभागले सीआईबीलाई अनुसन्धानको लागि पत्राचार गरे पनि अहिलेसम्म सीआईबीले भने कारबाही अगाडि बढाएको छैन ।

सहकारी विभागमा ५३ करोडको माग दाबीसहित बचतकर्ताले उजुरी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस