छोरी जन्मने बित्तिकै पाँच हजार खातामा    « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

छोरी जन्मने बित्तिकै पाँच हजार खातामा   


४ श्रावण २०८०, बिहिबार


काठमाडौँ । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष ०८०/८१ को गाउँ सभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।  

यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइनेछैन ।  

‘छोरी जन्मिदा परिवारमा खुसियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ,’ उपाध्यक्ष डाँगीले भने । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउनका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ मा  १० लाख विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ ।    

Tags :
प्रतिक्रिया दिनुहोस